एक खेल नखेली रुस र उरुग्वे दोश्रो चरणमा, स्पेनले इरानलाई हरायो अब तेश्रो खेल जित्नै पर्ने दुवैलाई दवाब

समाचार घर

प्रकाशित मिति - बिहिबार, असार ७, २०७५

                               

एजेन्सी | रुस र उरुग्वे विश्वकप फुटबलको समूह ए बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूहको दोस्रो खेलमा आज उरुग्वेले साउदी अरवलाई १–० गोलले हराएपछि उरुग्वेसँगै रुस पनि नकआउट चरणमा प्रवेश गरेको हो ।

समूहको सुरुवाति दुई खेलमा जित हासिल गरेको दुवै टोलीको समान ६ अंक छ भने जित हासिल गर्न नसकेको इजिप्ट र साउदी अरेबियाले अंक जोड्न सकेका छैनन् । समूहको अन्तिम खेल रुस र उरुग्वेबीच हुनेछ यही खेलबाट समूह विजेताको टुंगो लाग्नेछ ।

बुधबार साउदी अरेबियाविरुद्धको उरुग्वेको जितमा पहिलो हाफको २२औं मिनेटमा लुइस स्वारेजले गरेको गोल नै निर्णायक बन्यो । कर्नर प्रहार क्लियर गर्ने क्रममा साउदीका गोलरक्षक बिट भएको अवस्थामा गोललाइन नजिकैबाट स्वारेजले बललाई जाली चुमाएका थिए ।

यसैबीच साउदीविरुद्धको खेलसँगै उरुग्वेका सुपरस्टार लुइस स्वारेजले राष्ट्रिय टिमका लागि १०० खेलको कोशेढुंगा पार गरेका छन् ।

उनले १०० औँ खेलमा गोल पनि गर्न सफल भए । स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षीय स्ट्राइकर स्वारेजले राष्ट्रिय टोलीका लागि १०० खेलमा ५२ गोल गरेका छन् । जसमा ६ विश्वकप गोल पनि समावेश छ ।

उनी लगातार तीन विश्वकपमा गोल गर्ने एक्ला उरुग्वेली खेलाडीसमेत बनेका छन् । उरुग्वेले गरेको पछिल्ला १५ विश्वकप गोलमध्ये ८ गोलमा स्वारेजको प्रत्यक्ष संग्लग्नता छ । ६ गोल गरेका छन् भने २ गोलका लागि पास उपलब्ध गराएका छन् ।

समूह ए का दुई टो ली साउदी अरेबिया र इजिप्ट भने आफ्नो एक खेल्न बाँकी रहेको अवस्थामा नै समूह चरणबाटै बाहिरिएका छन् ।

इरानमाथी स्पेनको जित

यस्तै बुधबार राति भएको दोश्रो खेलमा युरोपियन फुटबल जायन्ट स्पेनले जारी २१ औं संस्करणको विश्वकपको आफ्नो समूह चरणको खेलमा इरानलाई १-० ले हराएको छ।

उसले कजान रंगशालामा भएको संघर्षपूर्ण र रोमाञ्चक खेलमा १-० को जीत निकालेको हो। जीतसँगै उसले ४ अंक बटुलेको छ। स्पेनले समूह चरणबाट बाहिरिएको मोरोक्कोसँग समूहको अन्तिम खेल खेल्नेछ।

स्पेन र एशियाली राष्ट्र इरानबीचको समूह चरणको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा इरानले खेलमा फर्किने केहि महत्वपूर्ण मौका गुमायो। उसले गरेको एक गोल अफसाइड भएको थियो। भिएआरबाट सो गोललाई अफसाइड घोषणा गरिएको थियो।

समूह ‘बि’को यी दुबै टोलीलाई नकआउट प्रवेशका लागि जीत अत्यावश्यक रहेको थियो। सो जीत स्पेनका लागि डिएगो कोष्टाले खेको ५४ औं मिनेटमा निकाले। यसअघि भएको पहिलो खेलमा स्पेनले पोर्चुगलसँग ३-३ गोलको बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई २-० ले हराएको थियो।

अंकतालिकामा १ बराबरी र एक जितसहित पोर्चुगल ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। स्पेन ४ अंक सहित दोश्रोमा छ। इरान ३ अंकसहित तेश्रोमा छ। पोर्चुगलले मोरोक्कोसँग भएको खेलमा १-० को जीत निकालेको थियो।

समूह चरणको दुबै खेल हारेको मोरोक्को घर फर्किने पक्का भइसकेको छ। आजको खेलमा जीत निकालेमा इरान एक खेल बाँकी हुँदै दोश्रो चरणमा प्रवेश गर्ने थियो तर स्पेनले उसलाई निराश पारिदियो ।

स्पेनले निराश पारेपनि इरानको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छैन्।