भाग्यमानी टिम इरानलाई स्पेनले जित्नै पर्ने दवाव

प्रकाशित मिति - बुधबार, असार ६, २०७५

                               

एजेन्सी | विश्वकप फुटबल अन्तरगत समूह बीका इरान र स्पेन बुधबार राति पौने १२ बजे कजान एरिनामा भिड्दैछन् । पहिलो खेलमा उपहार गोल पाएको इरान अहिले ३ अंक सहित तालिकामा शीर्ष स्थानमा रहेको छ ।

तुलनात्मकरुपमा बलिया मानिएका पोर्चुगल र स्पेन एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । इरानलाई आजको खेलमा स्पेनसँग बराबरी गर्दा पनि राहत हुन्छ भने स्पेनलाई जित्नैपर्ने दवाव छ ।

स्पेन प्रतियोगिताकै तुलनात्मक रुपले सन्तुलित टिम पनि हो । फिफा वरियतामा स्पेन आठौं स्थानमा रहेको छ भने इरान ३६ औं स्थानमा छ ।

विश्वकपको पहिलो चरणको खेलमा क्रिष्टियानो रोनाल्डोको कप्तानी प्रदर्शनका कारण पोर्चुगलसँग उत्कृष्ट प्रदर्शन गरेपनि ३–३ गोलको बराबरीमा रोकिँदा स्पेन अंक बाँड्न बाध्य भएको थियो ।

जसले गर्दा इरान र मोरक्कोसँगको प्रतिस्पर्धा स्पेनकालागि जित्नै पर्ने बाध्यता पनि छ । बराबरी वा पराजय स्पेन घर फर्कन विवश हुने छ ।

इरान प्रतियोगिताकै भाग्यमानी टिम हो । उसले पहिलो खेलमा मोरक्कोमाथि १–० को जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेको छ ।