इतिहासमा तेस्रो पटक हुन लागेको उरुग्वे र साउदीको भेट, अगाडीको दुई भेटमा बराबर, आज के होला !

प्रकाशित मिति - बुधबार, असार ६, २०७५

                               

एजेन्सी | विश्वकप फुटबलमा समूह ‘ए’ बाट आयोजक रसियाले नकआउट चरणमा स्थान बनाइसकेको छ । लगातार दोस्रो जित निकालेर एक खेल अगावै नकआउट चरणमा स्थान बनाउन सफल रसियाले अन्तिम खेलमा उरुग्वेको सामना गर्दैछ ।

समूह ‘ए’ बाट नकआउट चरण पुग्ने दोस्रो टिम बन्ने लक्ष्यमा रहेको दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले आज समूह चरणको दोस्रो खेलमा एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियाको सामना गर्नेछ । खेल रोस्टोभस्थित रोस्टोभ अन डन एरिनामा राति ८ः४५ बजेपछि हुनेछ ।

पहिलो खेलमा इजिप्टमाथि १–० को झिनो जित निकालेको उरुग्वे साउदी अरेबियालाई सहजै पराजित गर्दै अघि बढ्ने योजनामा हुनेछ । पहिलो खेलमा इजिप्टलाई हराउन उरुग्वले ठूलै मिहेनत गर्नुपरेको थियो । पहिलो खेलमा उरुग्वेले बल नियन्त्रण लिएपनि पोस्ट प्रहारमा उरुग्वेले ध्यान दिन सकेन ।

त्यसो त उरुग्वेका लागि साउदी बलियो प्रतिद्वन्द्वी होइन । १९९४ पछिका विश्वकपमा साउदीको प्रदर्शन राम्रो छैन । त्यतिबेला बेल्जियमलाई पराजित गरेयता साउदी विश्वकपमा जितबिहिन छ । त्यसो त साउदी उरुग्वेलाई पारजित गर्नेभन्दा पनि राम्रो फुटबल खेल्ने योजनामा हुनेछ ।

पहिलो खेलमै रसियासँग ५–० को हार बेहोरेको साउदीले विशेषगरी रक्षापंक्तिमा ध्यान दिनेछ । साउदी र उरुग्वेबीच अहिलेसम्म २ पटक मैत्रीपूर्ण खेल भएको छ । सन् २००२ र २०१४ मा भएको दुवै खेल बराबरीमा सकिएको थियो ।