गोरेलाई मृत्युदण्ड !

प्रकाशित मिति - सोमवार, असार ४, २०७५

                               

‘साक्षीको बयान र प्राप्त प्रमाणलाई मध्यनजर गर्दै संविधानको धारा …(…) बमोजिम अभियुक्त गोरे भनिने भीमप्रसाद गोले ११ वर्षीया नाबालिका बलात्कार र हत्यामा दोषी पाइएकोले नीजलाई मृत्युदण्डको सजाय सुनाइन्छ’, न्यायाधीश फैसला सुनाउँछन्। मृत्युदण्ड लेखिएको कागजमा हस्ताक्षर गर्छन् र कलमको निब भाँचिदिन्छन्।

नेपालको कानुन परिवर्तन गरेर बलात्कारीले मृत्युदण्डसम्मको सजाय बनाइएपछि गोरेलाई मृत्युदण्ड सुनाइएको हो। संविधान संशोधन गरेर नयाँ कानुन आएसँगै बलात्कारीले कडाभन्दा कडा सजाय पाउने भएपछि छोरीचेलीको सुरक्षा हुने र उनीहरुले पनि सुरक्षित भएको महसुस गर्ने आँकलन गरिएको छ।

यस्तो कानुन ल्याएकोमा राजनीतिक नेतृत्वको हाईहाई छ भने बाच्न पाउने अधिकार हनन भएका भन्दै मानव अधिकारवादीहरु रुष्ट छन्। अरु जो जे भए पनि जनता भने दंग छन्।

यसै सेरोफेरोमा ५ कक्षा पढ्दै गरेकी सुमिनाको बलात्कार हुन्छ। बलात्कारी ४० वर्षीय गोरेलाई प्रहरीले उसलाई पक्राउ गर्छ। सबै प्रमाण जुटेपछि नयाँ कानुन बमोजिम उसले मृत्युदण्डको सजाय पाउँछ। दोषीले सजाय पाएकोमा परिवारका सदस्यले छोरी गुमाउनुको पीडामा थोरै मलम लगेको अनुभव गरेका छन्। यो सजायपछि जनताले कानुनी राज्यको अनुभूति गरेका छन्। यता सुमिना भने संसार छाडेर गइसकेकी छ।

सुमिना त्यस घरकी एक्ली सन्तान। स्कुलकी ‘फस्र्ट गर्ल’। नम्र स्वभाव। मीठो बोली। बाबुआमाको एकमात्र आशा, भरोसा र विश्वासकी पात्र। आज उसका सपना टुटेका छन्। धेरैले यसलाई उसको नियति भनिरहेका छन्। तर, बलात्कार नियति पक्कै होइन।

०००
‘आज मेरी छोरीको आत्माले पनि शान्ति पाएको छ’ रेखाकी आमा एक्लै बोल्छिन। उनी टिभीमा समाचार हेरिरहेकी छन्। ९ महिनाअघि रेखाको बलात्कार भयो। त्यतिबेला ऊ १५ वर्षकी थिई। बलात्कारपछि उसको हत्या गरियो। रेखाका बाबुआमाले दोषीविरुद्ध प्रहरीमा जाहेरी दिए। मुद्दा अदालतमा पुग्यो। अदालतले बलात्कारीलाई दोषी ठहर गर्दै जेल चलानको फैसला सुनाइयो। पछि राजनीतिक बलमा उसले आम माफी पायो।

त्यतिबेला नेपालमा मृत्युदण्ड दिने कानुन थिएन। बलात्कारीहरु सजिलै उन्मुक्ति पाउन सक्थे। कोही राजनीतिक आडमा, कोही पैसा र पावरको बलमा। तर, अहिले समय फेरिएको छ। त्यसैले त खुसी छिन रेखाकी आमा।

आज रेखाको मात्र होइन पार्वती, सविता, रमिला, लीला, शीला सबैको घरमा खुसी छाएको छ। उनीहरु पनि यसैगरी बलात्कृत जो भएका थिए। कतिपय बलात्कारी जेलमा होलान्, कति अझै कसैको अस्मिता लुट्दै। जे होस्, बलात्कारी बलात्कारी नै हो। सजाय गोरेले पाओस् या कालेले उखेलिने बलात्कारको जरा हो। त्यसैले त खुसी छन् उनीहरु। अब छोरीहरु बलात्कृत नहुने आशमा।

‘छोरी मैले तिम्रो अस्मिता लुट्नेलाई सजाय दिलाउन सकिनँ। तर, देख्यौँ तिमीले, आज भगवानले हाम्रो पुकार सुनिदिएका छन्। अब कसैको अस्मिता लुटिने छैन। हत्या हुने छैन र भए पनि उसले मृत्युदण्डको सजाय पाउने छ। नेपालमा अब कसैको केही चल्नेछैन। चल्नेछ त केवल कानुनी राज…’ गहभरी आँसु पार्दै रेखाकी आमा एक्लै बर्बराइरहेकी छिन।

०००
अब सुमिनाहरुले प्रत्येक रात न्याय माग्दै न्यायाधीश, वकिल, प्रहरीको ढोका ढकढकाउनु पर्ने छैन। सपनामा उनीहरुलाई तर्साउनु पर्ने छैन। पैसाको बिटो फालेर अपराधी मुक्त हुन पाउने छैनन्।

सुमिनाकी आमा आज केही खुसी देखिन्छिन्। उनी अदालत परिसरबाट बाहिरिँदै छिन्। मिडियाका क्यामेराहरु उनी अगाडि तेर्सिन्छन्। एक पत्रकारले प्रश्न गर्छ, ‘सुमिनाको हत्याराले मृत्युदण्ड पाउँदा तपाईंलाई अहिले कस्तो लागिरहेको छ?’

‘खोई कस्तो लागेको छ भन्नु… आज मेरो संसार मसँग छैन। मेरो खुसी खोसिएको छ। म पीडामा छु। अब मैले मेरी छोरीको मुखबाट ‘आमा’ शब्द सुन्न पाउने छैन’, आँखामा भरिएका आँसु पुछ्दै उनले यस्तो प्रतिक्रिया दिइन्।

सुमिनालाई अन्तिम पटक हेर्दा उसको ओठबाट केही कुरा गुञ्जिरहेको आभास भएको थियो। मेरो मनले उसको चित्कार सुनेको थियो। उसको तड्पाई मैले महसुस गरेकी थिएँ। सायद उसको आत्मा केही भन्न चाहन्थ्यो। के ? त्यो त म सुन्न सक्दिनथेँ तर, महसुस गर्न पक्कै सक्थेँ। उसको आत्माले मेरो हत्यारालाई सजाय दिनु है आमा भनिरहेको थियो । र, त्यसैबखत मैले एउटा प्रण गरेकी थिएँ, जसरी हुन्छ अपराधीलाई सजाय दिलाउने। अनिमात्र पाउने थियो उसको आत्माले शान्ति। मेरो मनले चैन।

र, मैले मेरो बाचा पुरा गरेकी छु। अरु त के भनौँ र खोई।

०००
यतिबेला नारीहरु रातमा आँखा चिम्लनासाथ ढुक्कसँग निदाउन थालेका छन्। कहाँ, कतिबेला, को आएर झम्टने हो भन्ने डर, भय उनीहरुमा हराइसकेको छ।

रातमा यताउता हिँड्न सक्ने भएका छन्। छोरी ढिलासम्म घर नआउँदा परिवारका सदस्य धेरै पीर गर्दैनन्। किनकि हाम्रो देशमा कानुनी राज छ। बालत्कारीको आँट, हिम्मत कमजोर भएको छ। सायद यही हो नयाँ नेपाल– बृद्धहरु चर्चा–परिचर्चा गरिरहेका छन्।

०००
मेरो मनमा विभिन्न प्रश्न खेलिरहेका छन्। म एक्लै बर्बराइरहेको छु।

हत्यारा, बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्दै पर्चा र पम्प्लेट बाड्ने र ठूलाठूला भाषण गर्ने मानवअधिकारकर्मीले अहिले मृत्युदण्डको सजाय खारेज गर भन्दै सडक तताएको देख्दा तिमीलाई नमज्जा लाग्छ होला सुमिना। तर, तिमी कत्ति नआत्तिनु, देशको राजनीतिले नयाँ मोड लिइसकेको छ। सबै न्यायको पक्षमा छन्। अपराधिलाई साथमा लगाएर केही डलरवादीहरु उफ्रिरहेको मैले पनि सुनेको छु। तर, देशका जनता बलात्कारीलाई मृत्युदण्ड नै हुनुपर्ने पक्षमा छन्।

यदी यसलाई परिवर्तन गर्न खोजिए यहाँ ठूलै बज्रपात हुनेछ। सडकमा टायर बल्नेछन्, सांसदहरु लखेटिनेछन्, राजनीतिककर्मीलाई बहिष्कार गरिनेछ, ठूलै आन्दोलन चर्कर्नेछ, जनता एकजुट हुनेछन्। हो सुमिना, तिमी ढुक्क भएर सुत, अब तिमीजस्तै अरु कोही क्रुर अपराधको शिकार हुनुपर्ने छैन।

तिमी सोच्छौँ होला, मेरो अस्मिता लुटेर विभत्स हत्या गरिँदा मानवअधिकार हनन् नहुने तर, त्यही हत्यारालाई मृत्युदण्ड दिँइदा मानवअधिकार हनन् कसरी हुन्छ? तिमीले बुझेकी छैनौँ, यहाँ पढेलेखेका, जान्नेबुझ्ने, आफूलाई उपल्लो दर्जाको बौद्धिक ठान्ने, नागरिक समाजका अगुवा भन्दै हिँड्ने, जनताको आवाज बोल्ने नेताको नामले चिनाउने, कानुनको संरक्षक बनेर बसेकाहरु नै देशमा हत्या, हिंसा, अपराध अन्मुलन होस् भन्ने चाहन्नन्। किनकि उनीहरु त्यसको आडमा ठूलाठूला भाषण छाट्दै, नारा लगाउँदै जनताको आँखामा छारो हालेर त्यसैमाथि फोहर राजनीति गरिरहेका छन्। हो, भोटको खेल खेलिरहेका छन्। तर, अब जनताले बुझिसकेका छन्। तिमी ढुक्क होऊ, तिमीजस्तै अन्य कुनै नारी सुमिना बन्नुपर्ने छैन।

आजभोलि नेपाली सञ्चारमाध्यममा बलात्कारका समाचारहरु आउन छाडिसकेका छन्। नारीहरु स्वतन्त्र भएर हिँडिरहेका छन्। नारी संवेदनशीलताका घटनाहरु हुन छाडेसँगै विभिन्न तह, तप्कामा महिलाहरु देखिन थालेका छन्। विश्वकै उत्कृष्ट भनिएर दाबी गरिएको संविधान व्यवहारिक रुपमा पनि लागू हुन थालेको छ। त्यहाँ समेटिएका महिला अधिकार र हक हितका कुुराले प्राथमिकता पाउन थालेका छन्।

तिमीले देखिरेहकी छौँ नि सुमिना? नारीहरु पनि पुरुषसरह हिँडडुल गर्न, सभा–सम्मेलनमा भाग लिन, रातिमा काम सकेर ढुक्कसँग अबेर घर आउन, समाजमा आफ्नो छुट्टै पहिचान र हैसियत बनाउन थालिसकेका छन्। सायद यो सबै धेरै पहिल्यैदेखि भएको हुन्थ्यो भने आज तिमी पनि यही धर्तीमा शिर ठाडो पारेर हिँडिरहेकी हुन्थ्यौ होला। तर, दुर्भाग्य त्यसो भएन।

आज पनि मलाई याद छ, तिम्रो हत्या कति विभत्स तरिकाले गरिएको थियो भन्ने। तिम्रो शरीरभरी निलडाम, तिम्रा कपडाहरु रक्ताम्य, कोठावरिपरी सामानहरु छरपस्ट छरिएका अनि तिम्रो घाटीमा सल बेरिएको। हो, यही अवस्थामा तिमी आफ्नै कोठामा भेटिएकी थयौँ। त्यो पनि याद छ राजनीति, पैसा र शक्तिको बलमा हत्यारालाई कसरी उन्मुक्ति दिन खोजिएको थियो र तिम्रो हत्या आत्महत्याको संज्ञा ।

तर, धन्य छिन् तिम्री आमा जसले तिम्रा लागि न्यायको ढोका ढकढक्याउँदै दिनरात अन्यायका विरुद्ध लडिरहिन्। कति दिन उपवास बसिन्, कतिदिन खुलामञ्चमा आमरण अनसन । र त तिमीले न्याय पायौँ। तिमीले मात्र न्याय पाइनौँ तिमीजस्तै अन्यायका शिकार हुने भय बोकेर बसेका सबै नारीले आजादी पाए। हो सुमिना नेपाल फेरिएको छ।

०००
एक्कासि सुमिना मेरो अगाडि आई। म झसंग भएँ। उसको अनुहारमा कुनै उत्साह थिएन। मनमा कौतुहलता जाग्न थाल्यो। म केही बोल्न खोजे तर एकैछिनमा ऊ मेरो नजरबाट हराई। मेरा आँखा खुले। म जुरुक्क उठेँ। कुनै कुरा लेखिरहेको सपना देखेजस्तो लाग्यो। घडी हेरेँ, विहानको ७ बजेको रहेछ।

टिभी खोलें र समाचार लगाएँ। समाचारमा भनिदै थियो– गएराति एक युवतीको बलात्कारपछि हत्या। गोरेमाथि आशंका । प्रहरीद्वारा अनुसनधान जारी…।

कृष्ण आचार्यद्वारा लिखित कथा /नेपालखबरबाट