सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

प्रकाश धौलाकोटी

प्रकाशित मिति - शुक्रबार, असार १, २०७५

                               

तेह्रथुम, १ असार | छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउनुहुन्छ ।

बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उहाँको । लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र अप्ठ्याराहरु सुनाउने ठाउँ पाएका छन् ।

अध्यक्ष लिम्बू भन्नुहुन्छ, “सबैका कुरा सुन्नैपर्छ, उस्तै पर्दा आफ्नै सरसफाइ गर्ने, खाने र आराम गर्ने समय पनि मिल्दैनँ ।” कार्यालय समयबाहेकका अधिक समय उहाँले गाउँमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, उद्घाटन र न्याय निसाफका गतिविधिमा खर्चिएको बताउनुभयो । तर उहाँसँग पहिलो वर्ष सकिन लाग्दा देखाएर भन्न सक्ने कुनै उपलब्धि छैन । अहिले पनि गाउँपालिका कार्यालय नै व्यवस्थित भइसकेको छैन ।

आवश्यक ऐन कानून बनाउन बाँकी नै छन् । कर्मचारी पूर्ण छैनन् । “धेरै कुरा अझै आफैँले पनि बुझ्न बाँकी छ”, उहाँ भन्नुहुन्छ । “निर्वाचित भएको एक वर्ष बित्न लाग्यो, तर उपलब्धि केही छैन”, उहाँले भन्नुभयो, “खासमा भन्दा पहिलो वर्ष सिकाइमै बित्यो ।” म्याङ्लुङ नगरपालिकाकी उपप्रमुख पार्वतीसानु डाँगी पनि पहिलो वर्ष सिकाइमै बितेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै कुरा गर्न खोजियो, तर एकैपटक के नै गर्न सकिन्छ र ? खासमा यो वर्ष सिकाइमै बित्यो ।”

निर्वाचित भएको पहिलो वर्ष थिति, पद्धति र ऐन कानून बुझ्न र बनाउनमै बितेको उहाँ बताउनुहुन्छ । उहाँले आफूहरुको पहिलो वर्ष बित्न लाग्दा अहिलेसम्म यति काम गरियो भनेर देखाउने केही पनि आधार नभएको बताउनुभयो ।

जिल्लाका धेरैजना जनप्रधिनिधिले चुनावमा खाएका कसम पूरा गर्न चाहँदाचाहँदै पनि पहिलो वर्ष सिकाइकै रुपमा बितेको बताउँछन् । जनप्रतिनिधिले सिकाइ वर्षका रुपमा बिताएको पहिलो वर्षलाई नागरिकले पनि सहजै बुझेका छन् ।

उनीहरु भन्छन्, “जनप्रतिनिधि पनि भर्खरै आएका हुन्, उनीहरुले नै बुझेका छैनन्, अब गर्छन् कि भन्ने आशा छ ।” जनप्रतिनिधिको बुझाइ र नागरिकको धारणा मेल खाए पनि पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित भएर आएका जनप्रतिनिधिको वचनबमोजिमका काम शुरु नै भएका छैनन् ।

चुनावताका उनीहरुले बनाएका योजना शुरुवात गर्ने मेलो उनीहरुले पाएका छैनन् । काम गर्दै, सिक्दै गरेको र गर्ने क्रममा केही गल्ती भए पनि आगामी दिनमा सुधारसहित जनहितमा काम गर्ने उनीहरूको प्रतिबद्धता छ ।

गतवर्ष योजना छनोट र बजेट विनियोजनमा भएका कमीकमजोरी सच्याउँदै आगामी आर्थिक वर्षका लागि फरक ढंगबाट काम गरिरहेको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङ्वाङले बताउनुभयो । जिम्मेवारी सम्हालेको वर्ष दिन बित्न लागेपछि पहिलो वर्ष सिकाइमै बितेको र आगामी वर्षबाट त्यसलाई व्यवस्थित गर्न प्रयत्न गरिरहेको उहाँले स्वीकार्नुभयो ।

जनप्रतिनिधिहरुले पहिलो वर्षको बजेट अनुत्पादक क्षेत्रमा खर्च भएको आफैँले भन्न थालेका छन् । मोटो बजेट सडकमा खर्चिएर आफूहरुले गल्ती गरेको जनप्रतिनिधि बताउँछन् । “पहिलो वर्ष चाहेर पनि सामाजिक र आर्थिक विकासका कार्यक्रम कम बनेँ, धेरै बजेट सडकमै गयो”, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङ्वा भन्नुहुन्छ, “आगामी वर्ष सामाजिक र आर्थिक विकाससम्बन्धी योजना प्राथमिकतामा पर्छन् ।”

उहाँले यो वर्ष महिला, जनजाति, विपन्न र पिछडिएका लक्षित वर्गका लागि बजेट कम भएको आभास भएको बताउनुभयो । एकैपटक जनताका धेरै आवश्यकता र माग आएका छन् । “पहिलो वर्ष नबुझेर पनि गरियो, अब बुझेर गर्ने प्रयत्न छ”, उहाँ भन्नुहुन्छ । जिल्लामा दुई नगरपालिका र चार गाउँपालिका छन् ।

ती पालिकामा जम्मा ४३ वटा वडा छन् । सबै वडा र पालिकामा निर्वाचित जनप्रतिनिधिहरु आफ्नो गाउँको विकासका लागि चिन्तित चाहिँ छन्, तर मेसो पाएका जस्ता देखिँदैनन् । आफँैले बनाएका ऐन, कानूनबारे पनि उनीहरु पोख्त देखिँदैनन् । जनप्रतिनिधिका अहिलेसम्मका हरेक महिनाका १० दिन बढी विभिन्न विषयका गोष्ठी र अभिमुखीकरणमै बितिरहेका छन् ।

महिनाका आधा दिन तालीम, गोष्ठी र अभिमुखीकरणमै बितिरहेको म्याङ्लुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “काम गर्न धेरै छ, तर नयाँ संरचनामा भएकाले धेरै कुरा गर्न सिक्नुपर्ने अवस्था छ, सिकिरहेका छौँ ।”

कर्मचारी अभाव, ऐन कानून निर्माणमा असहजता, दक्ष स्रोत व्यक्तिको अभावलगायत विविध कारणले पहिलो वर्ष सिकाइमै बितेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ बताउनुहुन्छ । उहाँले आफूहरुले सकेसम्म प्रयत्न गरिरहेको र पाँच वर्षमा आफूहरुले नागरिकसमक्ष देखाएका सपना बढीभन्दा बढी पूरा गर्नेमा केन्द्रित भएको बताउनुभयो ।

स्थानीय तह गठन भएर केन्द्र तोकिएका बजारमा चहलपहल बढेको छ । विकासका योजना, सहभागिता र आर्थिक कारोवारसमेत बढेको छ । तर ती विकासका गतिविधिबाट निस्किएका प्रतिफल नागरिकमैत्री छैनन् ।

जिल्लाका सबै स्थानीय तहले सडकलाई प्राथमिकतामा राखे र काम गरे । कूल बजेटको ४० प्रतिशत बढी सडकमा विनियोजन गरेका स्थानीय तहले अहिले डोजर चलाएर सडक त बनाए, तर वर्षा शुरु नहुँदै सडकले खोल्सीको रुप लिएका छन् ।

वर्षा शुरु भएपछि अहिले सदरमुकामबाट गाउँसम्म सवारी चढेर पुग्नसक्ने अवस्था छैन । आफ्नै सवारीसाधन हुनेहरुसमेत सदरमुकाममा सवारी राखेर हिँडेर जान रुचाउँछन् गाउँसम्म । सडकमा गरिएको लगानी सधैँ अनुत्पादक रहेको आफूले पहिलो वर्षको कामबाटै सिकेको म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “कामले काम सिकाउँछ, अहिले सडकमा लगानी गरियो, तर प्रतिफल धेरै देखिएनँ, अब सडक कम प्राथमिकतामा पर्छ ।” उहाँले सडकभन्दा सामाजिक र आर्थिक विकास क्षेत्रमा बढी खर्च गरेर पूर्वाधारलाई पनि सँगसँगै विकास गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।