ऐश्वर्य´ “च्यारिटी शो” को लागि कलाकारहरु युएईमा

प्रकाशित मिति - बिहिबार, जेष्ठ ३१, २०७५

                               

युएई । एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालिमको सहयोगका लागि युएईमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ऐश्वर्य च्यारिटी शो का लागि नेपाली सिने जगतका चार जना कलाकार युएई आइसकेका छन् । एनआरएन युएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेतीका अनुसार च्यारिटी शोको लागि नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा युएई आएका हुन् ।

आगामी जून १५ शुक्रबार दुबईको अलकुजको डलस्को हल, अजमान, रास अलखेमा र अलएनमा चलचित्रको च्यारिटि शो हुनेछ । आयोजकले चलचित्र प्रदर्शन भएका सबै इमिरेट्सहरुमा कलाकारहरुलाई उपस्थिति गराउने पहल गरिरहेको बताएका छन् । त्यसको भोलिपल्ट इदको बिदालाई सदुपयोग गर्दै अबुधाबीको फोक्लोर कल्चरल हलमा दिउँसो १ बजे र काल्टन टावर होटेल देरा दुबईमा साझ ४ बजेबाट सांगीतिक कार्यक्रमका साथमा चलचित्रको च्यारिटी शो गर्ने कार्यतालिका छ ।

नेपालबाट आमन्त्रित कलाकार र युएईमै क्रियाशिल नेपाली कलाकारहरुको उत्कृष्ट प्रस्तुतिहरु रहने आयोजकले जानकारी दिएका छन् । च्यारिटी शो बाट प्राप्त मुनाफाले नेपालका आठ जिल्लामा नि: शुल्क आकस्मिक प्राथमिक उपचार तालिम संचालन गर्ने आयोजकको लक्ष्य रहेको छ । केही महिना पहिले नेपालका ८ जिल्लामा सोही तालिम सम्पन्न गरी १ हजारभन्दा बढी प्राथमिक उपचारक स्वंसेवक उत्पादन गरिसकेको छ ।

यो तालिम कार्यक्रम मार्फत नेपाल अधिराज्यका सबै ७७ जिल्लाहरुमा पुगी सेवामा समर्पित हुनको लागि अझै व्यापक हौसला मिल्ने आयोजकले बताएका छन् । मानव जिवनको उद्दार गर्ने लक्ष्य अनुरुप दोस्रो चरणको कार्यक्रम आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी,मोरङ र झापा जिल्लामा आयोजना हुनेछ । उक्त नि:शुल्क प्राथमिक उपचार तालिम कार्यक्रम सन्चालन गर्न आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि केही आर्थिक सहयता जुटाउने हेतुले युएईमा आउदै गरेको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिका साथै दुबईमा नेपालका ख्याती प्राप्त सिने कलाकारहरुका साथमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र लोक दोहोरी प्रतिस्ठान युएईमा आबद्ध कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहनेछ । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरुका साथमा अन्तर्राष्ट्रिय नेपाली कलाकारहरुको समुपस्थितीमा गरिन लागिएको भब्य सांगीतिक कार्यक्रम एबं नेपाली चलचित्र `ऐश्वर्य´ “च्यारिटी शो” को बृहत कार्यक्रममा सहभागी भै भरपुर मनोरन्जन लिनुहुन आयोजकले युएईमा श्रमरत सबै नेपालीहरुलाई आग्रह गरेको छ ।

चलचित्र ऐश्वर्य´को “च्यारिटी शो युएईका निश्चित इमिरेट्समा गर्ने तयारी तिव्र रूपमा भएको अवस्थामा सबै नेपालीहरुलाई उपस्थित भएर कार्यक्रम सफल बनाइदिनुहुन एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रमको सम्पुर्ण तयारी व्यवस्थित तरिकाले भएको र मानवीय सहयोगका लागि आयोजना गरिएको कार्यक्रम भएका कारण च्यारिटि शो मनोरञ्जनात्मक हुने विस्वास कार्यक्रम संयाेजन गरिरहेका एनआरएनए युएईका सचिव राजेस बोहराले बताएका छन् ।