आफ्नै शौचालय बोकेर ट्रम्पलाई भेट्न सिंगापुर पुगेका थिए किम जोङ

प्रकाशित मिति - बुधबार, जेष्ठ ३०, २०७५

                               

काठमाडौं,३० जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार ऐतिहासिक वार्ता सम्पन्न भएको छ।

ट्रम्प किम शिखरवार्ताका सिंगापुरले करिब १ करोड ५० लाख डलर खर्च गरेको थियो। वार्ताका लागि दुबै देशका नेता सिंगापुर पुगेका थिए।

तर रोचक कुरा के छ भने वार्ताका लागि सिंगापुर आँउदा उत्तर कोरियाली नेताले आफ्नो व्यक्तिगत शौचालय आफै बोकेर आएका थिए।

किमले सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले आफ्नै शौचालय बोकेर आएको बताइएको छ।

दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोले एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको बताएको छ।

सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए।

किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको छ।

किमले देशभित्रै पनि सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन्। किमको गाडीमा पनि एउटा शौचालय फिट गरिएको बताइएको छ।