स्व: राजा वीरेन्द्रको नाममा समेत यस्तो छ अर्बौँको सम्पत्ति दुरुपयोग (भिडियोसहित)

प्रकाशित मिति - मङ्लबार, जेष्ठ २९, २०७५

                               

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रको परिवारको अर्बौँको सम्पत्ति दुरुपयोग हुन थालेको छ । सम्पत्तिको संरक्षण र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल ट्रष्ट भने आफै समस्याग्रस्त छ । तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २२ हजार रोपनी जग्गा अहिले सरकारी स्वामित्वको नेपाल ट्रष्टको नाममा छ । जग्गाजमिन बाहेक नेपाली बिभिन्न बैंक खातामा भेटिएको ५५ करोड रुपैँया र बिदेशी बैंकमा रहेको पाउण्ड इस्ट्रलिङ तथा अमेरिकी डलर गरी २ करोड अर्थात दुई अर्ब भन्दा बढी रकम ट्रष्टकै नाममा छ ।

त्यसबाहेक नबिल बैंक,नेपाल औधोगिक विकास निगम तथा होटल डेला अन्नपूर्णमा रहेको ३७ लाख २४ हजार कित्ता सेयर पनि ट्रष्टसँगै छ । अर्बौको सम्पत्ति संरक्षण तथा सदुपयोगको जिम्मेवारी लिएको नेपाल ट्रष्टले संरक्षणमा कामै गर्न सकेको छैन् । दरबार लगायत ऐतिहासिक सम्पदा तथा सम्पत्ति बेवारिसे बनिरहेका छन् नै, पूर्वराजपरिवारको निगाहामा सम्पत्ति भोगचलन गरेका व्यक्ति तथा संस्थालाई ट्रष्टले बलजफ्ती हटाउन सकेको छैन् । काठमाडौंको छाउनीमा रहेको जग्गा जुनु थापाले छाडेका छैनन् भने कमलादीकै जग्गा पनि ब्यक्तिकै कब्जामा छ । त्यस बाहेक १२ जिल्लामा रहेको जग्गाको व्यवस्थापन त के संरक्षण पनि भएको छैन् ।

सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति समेत व्यवस्थापन र संरक्षण हुन नसक्नुमा सरकारकै कमजोरी देखिन्छ । यतिधेरै सम्पत्ति आयमुलक क्षेत्रमा लगाई स्वास्थ्य र शिक्षामा खर्चिनुपर्ने जिम्मेवारी पाएको ट्रष्टमा कर्मचारी नै कम छन् । १० वर्षमा १० जनाभन्दा बढी त सचिव नै फेरिइसके भने ८० जना कर्मचारी भएको ट्रष्टमा एकजना पनि इन्जिनियरको दरवन्दी छैन् । आवश्यक कर्मचारी तथा बजेट नपाउने हो भने २२ हजार रोपनी जग्गा र ऐतिहासिक दरबार व्यक्ति तथा संस्थाले हड्प्ने खतरा रहेको ट्रष्टले जनाएको छ ।

राजा जीवित छँदै र नेपाल ट्रष्टले पछि भाडामा लगाएका सम्पत्ति तथा भवनको शुल्क समेत अतिकम छ । यस्तो अवस्थामा नीजि रुपमा लुकाइएका सम्पति कसरी खोज्नु ?