रेखा थापा भन्छिन -‘ मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो’

प्रकाशित मिति - आइतवार, जेष्ठ २७, २०७५

                               

काठमाडौं, २७ जेठ । चर्चित नायिका एवम् राप्रपा–प्रजातान्त्रिककी नेतृ रेखा थापाले आफू हलिउड र बलिउडसँग प्रतिष्पर्धा गर्ने पक्षमा नरहेको बताउँदै थापाले देशको स्थिति के छ त्यही कुरा आफ्नो नयाँ चलचित्र मालिकामा देखाईएको बताईन् ।

शनिबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका थापाले एक ठाउँमा मात्रै विकास नभएर देशभरि नै विकास हुनुपर्ने धारणा राखिन् ।

आफू कामको सिलसिलामा देशको विभिन्न ठाउँमा पुगेको उल्लेख गर्दै उनले पार्टीगत रुपमा मात्रै विकास भएको पाउँदा दुःख लागेको सुनाईन् । उनले भनिन्,“नेता भनेको त अभिभावक हो, उहाँहरु जुन ठाउँबाट आज जितेर आउनुभएको छ, कमसेकम त्यो ठाउँको विकास हुनुपर्यो ।”

नेपाली चलचित्रप्रति आफूलाई कुनै गुनासो नभएको उनले बताईन् । थापाले भनिन्,“दिमाग अनुसार चलचित्र बन्ने हो । रेखा थापा प्याट्रनको फिल्म मैलेमात्रै बनाउने हो, अरुको आफ्नै प्याट्रन हुन्छ, त्यही अनुसार बनाउने हो ।”

आफूले विशुद्ध व्यापारको लागि मात्रै चलचित्र नबनाएको उनको दाबी छ । उनले थपिन्,“समाजको दायित्व निर्वाह गर्नुपर्छ है भन्ने मानिसहरुले समाज उठाउने खालका फिल्म बनाउँछन् । म अलिक पर छु । महिलाहरुलाई सशक्त बनाउने हो । मेरो उद्देश्य नै महिलालाई उठाउने हो, पुरुष त यसैपनि माथि नै छन् । तर महिलाहरु क्षमतावान हुनुपर्छ । महिलाहरु प्रतिष्पर्धा गर्न सक्षम छन् । किनकी हामी महिलालाई हेरिन्छ, हाम्रो आवरण हेरिन्छ् । हामी अब सुनिनुपर्यो ।”

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एकीकृत पार्टी नेकपाको सचिवालयमा एक जनापनि महिला नभएकोमा उनको गुनासो छ । उनले भनिन्,“नेकपाका महिलाहरुले विद्रोह गर्नुपर्छ । हाम्रो बाटो खोल्नको लागि उहाँहरुले बाटो खोल्नुपर्यो ।”

उनले आफूले भावी पीढिकै लागि पनि आफूले ध्यान दिएर चलत्रिका सिँगो पोष्टरमा आफ्नो फोटोर राखेर चलचित्र बनाएको दाबी गरिन् । उनले भनिन्,“नारीहरु सक्षम छन् । घरमा पनि समस्या छ । घरबाट नै परम्परागत बन्धन लगाईदिएको छ । म त भन्छु नारीहरु (तिमी) क्षमतावान बन, नाम र परिचय बदल्नुपर्दैन् ।”

२०६२/०६३ को जनआन्दोलनमा नारीहरु हजारौंको संख्यामा सहभागिता भएका थिए, उनीहरुकै कारण जनआन्दोलन सफल भएको थियो । अब यो देशमा नारी कहिले प्रधानमन्त्री बन्ने हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भनिन्,“हो, अहिले कार्यकारी राष्ट्रपतिको कुरा उठेको छ । हामी पनि प्रतिष्पर्धामा आउँछौं । म पनि प्रचण्डसँग प्रतिष्पर्धा गर्न तयार छु । नयाँ चेहरालाई पत्याईएन भने त्यो नयाँ पुस्ताको लागि दुर्भाग्य हुन्छ ।”