कविता-आउ साईला एकैछिन भलाकुसारी गरम !

प्रज्वल अधिकारी

प्रकाशित मिति - सोमवार, जेष्ठ २८, २०७५

                               

ए साईला
उ त्यो हाम्रो देशको नक्सा जस्तै
बिट उधृएको थर्कटी तानेर बस त
तिमीसँग एकैछिन भलाकुसारी गर्नु छ !

कति लगाउछौ लिड्को
अर्काको उबडखावड जिन्दगीको बारी सम्याउन !
कति समाउछौ कोदालो
अर्काको नमिलेको भाग्य जस्तो कान्लो मिलाउन !
कति रोप्छौ आँफु हिलिएर दु:खमा
अर्काको भकारी भर्न धान
आउ साईला
आज धित मरुन्जेल बात मारम !

आकासको फैलावट हेरेर बिर्सिदिउँ हात फिँजाउन
नदीको लम्बाई हेरेर बिर्सिदिउँ हात लम्काउन
धर्तीको प्रेम हेरेर बिर्सिदिउँ हात थाप्न
तिमी र म बसेर
आजसम्म नमारेका बात मारम
र, वर्षा बनेर बर्सिदिउँ
हात थापेर बसेको न्यायको खडेरीमाथी !

फुकाल्देउ जोताराहरू
र फुक्काफाल बनाईदेउ गोरुहरू
आज मलाई तिनीहरू चरेको हेर्ने रहर छ
खोलिदेउ हलो र जुवाहरू
आज मलाई
स्वतन्त्रताको नयाँ अभ्यास देख्न मन छ
फालिदेउ खोलेर हडम्लो कान्लातिर
आज मलाई ईतिहास गन्हाएको सुघ्न मन छ
साईला! आज मलाई
तिमीसँग भलाकुसारी गर्ने ठूलो धोको छ !

हिजो तिम्री ठुली छोरीको शीरमा फूल रोपेर
आज उसको जिन्दगीको बगैँचा उजाड बनाउने को हो ?
सानी छोरीलाई छाउगोठ नलगी हुँदैन भनेर
तिमीलाई जबर्जस्ती गर्ने को-को हुन ?
एउटा छोरो नपाई बैतर्नी तरिदैन भन्ने पण्डित को हो ?
तिम्री श्रीमतीलाई बजारिया मूल्य तोक्ने को-को हुन ?
कसले लगाएको हो
पति गुमाएको बर्षदिन नपुग्दै
तिम्री आमालाई बोक्सीको आरोप ?
भनन साईला किन चुप बस्छौ
आँखामा दरिद्रताको पट्टी लगाएर !
मुखमा ऋणको लुडी लगाएर !

किन चुडिएका छन तिम्रो दौराको तुनाहरू ?
तिमीले लगाएको चप्पल
जुन तिम्रा गोडासँग झगडा गरिरहेछन
कस्को दया हो त्यो ?
तिम्रो कम्मरसँग मिलेर बस्न नसकेको पाइन्ट
कस्को दान हो त्यो ?
भनन साईला
क- कस्ले तिमीसँग के- कस्तो सर्त राखेका छन ?

रातभर रोएर किन भिजाउछौ दु:खको सिरानी !
दिनभर हाँसेझै गरेर किन सकाउछौँ एकबारको परानी !

किन काँस फुलेको देखेर टोलाउदैछौ ?
किन उन्युको जिन्दगी हेरेर मुस्काउदैछौ ?
नियतीको अचानोमा राखेर जीवन
किन उचाल्दैछौ जिजीविषाको भुत्ते आँसी ?
भनन साईला
कसकसले धम्क्याएको छ तिमीलाई ?

सामन्तीहरूले मन नपराउने पसिना
आज तिमी र म सँगै बसेर सुँघौ आउ
आउ साईला
आज धित मरुन्जेल बात मारम !

मालिकहरूले आफ्नो धङधङी कायम राख्न
नङको पिँधमा लगाईदिएको
निलो मसी जस्ताको तस्तै रहेछ
भगवानको चाकरी गर्न पल्केकाहरूले
मन्दिर छोएको आरोपमा लगाएको कोर्‍आ
ज्युँ का त्युँ रहेछ
भनन साईला
तिम्रो मौनता कहिले आँधी बन्छ ?
तिम्रो सहनशीलता कहिले आगो बन्छ ?

थाह छ साईला !
हिजो मैले खुर्पेटोबाट खुर्पा निकालेर हिँडेपछि
नजिक आउन डराएका छन
अर्काको जिन्दगी चिहाउन तन्किने घाटीहरू
पिएर उन्मुक्तिको भाँङ नाँचेपछि ताण्डव नाँच
रोकिएका छन समाजका नर्तकीहरूका गोडाहरू

तर’नि साईला
म एक्लैले यसो गर्दा
उनीहरूको नजरमा
म बहुलाहा हुने खतरा बढेको छ
त्यसैले
मिल्काएर आउ न भारी दैनिकी
एकैछिन भलाकुसारी गरम !

(राष्ट्रिय कविता प्रतियोगिता २०७५ मा प्रथम स्थान हाँसिल गर्न सफल कविता)