भारतीय दुतावासले मागेको थियो राजदरबारका कर्मचारीको बायोडाटा ! राजा बीरेन्द्र यसरी रिसाएपछी ….

प्रकाशित मिति - सोमवार, जेष्ठ १४, २०७५

                               

भारतीय दूतावासलाई किन चाहियो दरबारका कर्मचारीको बायोडाटा ?

२०५९ जेठ २७ गते सोमबार । भारतीय राजदूतावासले दरबारमा कार्यरत व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न थालेको बुझिएको छ । त्यसअनुसार चिरनशमशेर थापा र विश्वविक्रम शाहले आ-आफ्नो व्यक्तिगत विवरण राजदूतावासमा पठाइसकेको र सुदनप्रसाद पोखरेलले पठाउन तयारी गरिरहेको कुरा आएको छ । त्यसै क्रममा मलाई सचिव विश्वविक्रमले ‘भारतीय राजदूतावासबाट जर्साबको व्यक्तिगत विवरण मागिएको छ, मलाई पठाइदिनू’ भन्नुभयो । मैले ‘मेरो व्यक्तिगत विवरण शाही जंगी अड्डा र राजदरबारमा मात्र रहन्छ, म अरू कसैलाई व्यक्तिगत विवरण पठाउँदिनँ’ भनिदिएँ । यो ज्यादै संवेदनशील विषय हो । यसका निम्ति मैले प्रमुख निजीसचिव सुदनप्रसाद पोखरेललाई गालीसमेत गरेँ । उहाँले विश्वले भन्यो भनेर हल्का रूपमा लिनुभयो ।

मैले यो कुरा सरकारमा जाहेर गरेँ ।

सरकार एकदमै रिसाइबक्स्यो । ‘बायोडाटा किन पठाउने ?’ सरकार क्रूद्ध होइबक्स्यो ।

हत्या किन भयो ?

मान्छेमा विभिन्न कमजोरी स्वाभाविक रूपले हुन्छन्। त्यस्तै कमी-कमजोरी दीपेन्द्र सरकारमा पनि थिए। सरकारको सबैभन्दा मुख्य कमजोरी महिला नै थियो। त्यस्तै एउटा परिवारमा हुनसक्ने कलह या झगडा राजा वीरेन्द्रको परिवारमा पनि थियो। दरबारमा काम गरेको लामो अनुभवका आधारबाट हेर्दा मलाई युवराजाधिराजको विवाहका सन्दर्भमा दरबारभित्र उठेको किचलोमा दीपेन्द्र सरकारलाई कुनै वैदेशिक शक्तिले खेलाएको अनुभव हुन्छ। यो मूलतः राजनीतिक षडयन्त्र थियो।

२०५७ सालको मध्यतिर सरकारबाट मलाई एउटा गोप्य फाइल अध्ययन गर्न दिइबक्सेको थियो। उक्त फाइलमा देशमा सङ्कट आएको अवस्थामा अपनाउनुपर्ने विभिन्न रणनीतिबारे उल्लेख गरिएको थियो। त्यस योजनाको नाम थियो- ‘वाज’। यसक्रममा सरकार पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी -फिल्ड मार्सल) बनाएर सबै सुरक्षा निकायसँग समन्वयकर्ताको जिम्मेवारी दिने सोचमा होइबक्सन्थ्यो। उहाँलाई २०५८ वैशाख १ गते अतिरथी बनाउने तय भएको थियो। यसै समयमा राजनीतिक नेताहरू र उनीहरूका गतिविधिमा समेत निगरानी राख्ने योजना बनेको थियो। सरकारको योजना कार्यान्वयन भएको भए त्यसैबेला माओवादी समस्या समाधान हुने थियो। साथै २०४६ सालमा नराम्ररी क्षति भएको राजसंस्थाको छवि बढ्ने थियो र राजसंस्थाको भविष्य सुनिश्चित पनि हुने थियो। यो कुरा बेग्लै हो, सरकारको योजनाले अर्कै मोड लिएर वा अन्य कुनै कारणबाट पञ्चायती व्यवस्थाको पुनरावृत्ति भएको भए राजसंस्था त्यसै समयमा समाप्त हुने अवस्था सिर्जना हुन पनि सक्थ्यो।

मुलुकको समस्या समाधानका लागि यसरी एउटा गम्भीर योजनाले आकार लिन लागेका बेला रहस्यमय तरिकाले राजदरबार हत्याकाण्ड हुन पुग्यो। त्यसैले यस घटनामा स्वदेशी तथा विदेशी विभिन्न तत्त्वहरूको हात हुनसक्छ भन्ने मेरो विश्लेषण तथा निष्कर्ष रहेको छ। दुर्भाग्यवश आजसम्म त्यो पाटोको छानबिन हुनसकेको छैन।

सेनाका पूर्वरथी विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’ बाट साभार