गरिबको लागि लड़ने कंगालहरु एकाएक कसरी भए धनपति ?

जनकमान डंगोल

प्रकाशित मिति - शनिबार, जेष्ठ १२, २०७५

                               

राणाशाहीले देस र जनताको लागी केहि गरेन । जनतालाई दास बनाए । बोल्न लेख्न र स्वतन्त्रता पाएन भनेर २००७ साल भन्दा अगाडी देखिनै देस भित्र र बाहिर बसेर क्रान्ति गरे । जनता नेपालमा उर्लिए तर राणाशाही संगको सम्झौता भारतको दिल्लीमा बसेर गरे । सिधा र सहि अर्थमा भन्ने हो भने नेपालमा २००७ सालमा स्थापना भएको पहिलो प्रजातन्त्र बिदेसिको चाहनामा हो भनेर बुझ्न सकिन्छ ।

राणा शाही हटाउने भन्दै गरिएको आन्दोलनको जस नेपाली कांग्रेस पार्टीलाई गएको थियो भने त्यो समयमा गरिएको क्रान्तिमा कम्युनिस्टहरु पनि संलग्न थिए । बहुमतको संख्यामा कांग्रेसीहरु भएको हुँदा जस जति कांग्रेसले पायो ।

नेपालमा कम्युनिस्ट पार्टी पनि छ भनेर धेरै नेपाली जनताहरुलाई थाहा पनि थिएन । २०२८ सालको झापा काण्ड पछी नेपालमा पनि कम्युनिस्टहरु रैछन भनेर धेरथोर जनताले जान्ने र बुझ्ने मौका पाए ।

नेपालमा सबै भन्दा दुख्याहा पार्टी नेपाली कांग्रेस हो । हिजो राणा शाही देखि पंचायती शासनमा जेलनेल देखि सरकारको दमनमा नेपाली कांग्रेसकै असंख्य पार्टीका नेता देखि कार्यकर्ताहरु परेका थिए । पटक पटक आन्दोलनको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसले जब आन्दोलन सफल भएर सत्तामा जाने मौका पाउछ त्यसपछि नानी देखि लागेको बानि देखाउन थालेकै भएर होला नेपाली कांग्रेस भनेको सामन्तीको पार्टी हो भनेर कुनै समयमा कम्युनिस्टहरुले आरोप पनि लगाउथे ।

सामन्ती अर्थात धनीमानी । यो पदवी हिजो पंचायतमा लाग्नेहरुले पनि पाएका थिए भने जन्मिदै जर्नेलको दर्जा पाउने राणाहरुको बिषयमा त झन् के टिप्पणी गराई भो । देस र जनतालाई नचुसे सम्म धनि बन्न पाइदैन । धनि नभए सम्म गरिबहरुले हेपेर भन्ने गरिएको सामन्तीको दर्जा पाईदैन ।

२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु टुट्दै जुट्दै फुट्दै फेरी एकआपसमा गोलबन्द हुँदै पटक पटक क्रान्तिको नाउँमा जनतालाई सडकमा उचालेर सत्तामा पुगे । हिजो पंचायती शासनकालमा बिहान बेलुकीदुई छाक हातमुख जोर्न नसक्ने गरिब जनताको घरमा सेल्टर (आश्रय) लिएर तिनै गरिब जनताको दिमाग भुटेर सडकको राजनीतिमा होमे र होमिन लगाए । क्रान्ति देखि आन्दोलन सफल भयो भन्दै पटक पटक सत्ताको स्वाद पनि चाख्न पाए र अहिले पनि चाख्दैछन ।

२०३६ देखि ४६ सालको बिचमा ‘साहुको ऋण तिर्न भनि गाको मेरो छोरो….. मेरो छोरो धनजिते फेरी फर्केन’ भन्दै जनभाकाको करुण रसको गित होस या ‘लौ उठ नारि अब एक जुट भै देउ चण्डी बनिदेउ कति संधै दाशी हुने’ भन्दै बीर रसको गित गाएर जनताको नाउँमा राजनीति गरेर आफुलाई खाँटी कम्युनिस्टको परिचय दिन अहिलेका नेताहरु सफल पनि भएका थिए । पंतिकारले सम्झेर लेखिएको गीतको यो टुक्रालाई अहिले धेरै नेताहरुले बिर्सी सकेका छन र यदि बिर्सेका छैनन भने सम्झिन पनि चाहदैनन । किन भन्ने प्रश्न उठ्न सक्छ ।

कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले पनि सेल्टरकै राजनीति गर्दै हिड्थे होलान । कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी त्यतिखेर सम्म बाँचेको भए कम्युनिस्टसंग पक्कै पनि लगन गाँठो कस्दैन थिए होलान किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । स्व.बि.ले कम्युनिस्टहरुको संगत किन गरेनन भन्ने कुरो पुराना कांग्रेसीहरुले अहिले आएर चाल पाएका होलान ।

प्रजातन्त्रको लडाई लडेर आएको पार्टी एमाले र माओको नाम भजाएर गणतन्त्र हामीले स्थापना गरेको हौ भन्ने माओबादी पार्टी अहिले आएर एकीकरण भए । एमाले होस या माओबादी दुवै कम्युनिस्ट पार्टी हुन र दुवै मिलेर बनेको पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी भनेर राखेका पनि छन ।

देसमा यतिखेर कम्युनिस्ट पार्टीको सरकार छ । कांग्रेस पार्टी बिपक्षमा पुग्न बाध्य भएको छ । सरकार गठनको १०० दिन पछी जनताको अगाडी प्रधानमन्त्री देखि मन्त्रीहरुले पेस गरेको सम्पति विवरण हेर्दा कम्युनिस्ट पार्टीका नेताहरुले कांग्रेस दिखी पुराना पन्चहरुको पार्टीलाई सामन्तीको पार्टी भनेर हामीले आरोप लगाउनु हुन्थेन भनि सोच्दै बसेका होलान ।

कार्टुनिस्ट बाशु क्षितिजको फेसबुक वालबाट साभार ।

हिजो सरकारको बिरुद्ध लडाई लड्नु भन्दा अगाडी जन समर्थन जुटाउने उद्धेश्यले जनताको घर दैलोमा जाँदा कम्युनिस्टहरु भनेका जोगी हुन भोगी हैनन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको कुनै जात धर्म हुदैन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको धन सम्पति सबै पार्टीको हुन्छ भनेर भनेका थिए ।

हिजो त्यस्तो भन्ने नेताहरुले अहिले पेश गरेको सम्पति विवरण हेर्दा तोलाका तोला सुन, चाँदी, हिरा जवाहरात देखि करोडौको बैंक ब्यालेन्स तथा सेयरहरु देखिन आएको छ । जनबादीको नाउँमा परम्परा मिचेर बिहा गर्दा आफ्ना कमरेडहरुलाई एक चिया त्यो पनि फिक्का समेत खुवाउने हैसियत नभएकाहरु अहिले विलासी गाडी चढ्ने हैसियतमा कसरि पुगे ? श्रीमतीको नाउँमा आएको दाईजो भन्नेहरुले हिजो जनताको घरमा सेल्टर लिएर आफ्नै सहकर्मी संग जनबादी बिहा गरेको एक दुई दसक नबित्दै कसरि धनबादी बन्न पुगे । आफ्नो कमाई भनेको सबै पार्टीको हुन्छ भन्नेहरुले सम्पति विवरण खुलाउँदा ति सबै सम्पतिहरु पार्टीको नाउँमा देखाउनु पर्ने होईन ?

२०४६ साल सबै पार्टीका नेता देखि तिनका तल्लो तहका कार्यकर्ताहरु सम्म मालामाल बनेका छन । सहकारी देखि बैंक, निजि स्कुल देखि कलेज सम्म खोल्लने हैसियत बनाई सकेका तिनीहरुले हिजो निजि शिक्षा प्रणालीको बिरोध पनि गरेकै थिए । छिमेकी भारतको बिषयमा भीत्ता भित्तामा लेखिएका उग्र नारा देखि पर्चा पम्पलेटमा लेखिएको बिरोध पनि देख्न र पढ्न पाईएको थियो तर क्रान्ति नेपालमा सन्धि र सम्झौता भारतमा बसेर गर्न समेत कम्युनिस्ट पार्टीका नेताहरु लाज मान्दैनन भने नेपालको कम्युनिस्ट पार्टीले अब पनि कांग्रेस देखि पुरा पूर्व पन्चहरुको पार्टीलाई शोषक र सामन्तीको पार्टी भनेर भन्न सक्ने ह्याउ राख्लान ?