दमकका वडाध्यक्षको घरमा अहिले राती बम विष्फोट २ घाइते, नगरप्रमुख ओलीलाई चेतावनी

प्रकाशित मिति - सोमवार, जेष्ठ ७, २०७५

                               

दमक | झापाको दमक –७ का वडाध्यक्ष भीम पौड्यालको घरमा आज राती अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाईते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५ सय मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की घरलाई लक्षित गरि शक्तिशाली विष्फोट गराएका हुन् । विष्फोटबाट गराउनेको रातीसम्म पहिचान खुल्न सकेको छैन् । प्रहरीका अनुसार छर्रा लागेर सोहि ठाँउका एक छिमेकीको घरमा पाहुना खान आएका सेमु राई र तिलोचन पोख्रेल घाईते भएका छन् । हात,खुट्टामा चोट लागेका घाईते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

राई सोहि अस्पतालकी कर्मचारी भएको खुलेको छ । प्रहरीले घटनाको बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैवीच आज मात्र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित वजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्बासीहरुलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्ति मार्फत चेतावनी दिएका थिए । लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षारमा जारी विज्ञप्तिमा त्यस्तो चेतावनी दिएको उल्लेख छ ।