यसरी बन्यो शक्तिशाली ‘नेपाल कम्युनिष्ट पार्टी’ हेर्नुहोस फोटो र भिडियोमा

प्रकाशित मिति - शुक्रबार, जेष्ठ ४, २०७५

                               

दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साँझ राष्ट्रिय सभागृहबाट नेपाल कम्युनिष्ट पार्टीको घोषणा गर्नुभएको हो । नेपालको कम्युनिष्ट आन्दोलन र इतिहासमा यो ऐतिहासिक कदम हो । दुई ठूला कम्युनिष्ट पार्टीको एकतासँगै राष्ट्रिय राजनीतिले समेत नयाँ मोड लिएको छ ।

एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै जना रहनुभएको छ भने पार्टी संचालनका लागि ९ सदस्यीय सचिवालय बनाइएको छ । बिष्णु पौडेल महासचिव हुनुभएको छ भने नारायणकाजी श्रेष्ठ प्रवक्ता रहनुभएको छ ।

एकतापछिको नेपालको कम्युनिष्ट पार्टी दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी भएको छ भने विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपालमा भने नयाँ ढंगबाट संगठित भएको छ । नेताहरुले ६ बुँदे घोषणापत्र एकता जारी गर्दै आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताउनुभयो ।

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । केन्द्रीय सदस्यहरुले त्यहाँ सामुहिक सपथ लिनुभएको थियो । त्यसपछि अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोग पुग्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अण्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।