भारतको हेपाहा प्रवृति र ज्यादतीबारे ओलीले मोदीसँग आँखा जुधाएर कुरा गर्न सकेनन्: चित्रबहादुर केसी, भिडियो

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १, २०७५

                               

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमण धार्मिक नभई राजनीतिक भ्रमण भएको जनमोर्चा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले माउण्टेन टेलिभिजनको कार्यक्रममा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

मोदी धार्मिक मानिस भएका भए स्वतन्त्र देशको संविधानलाई अस्वीकार गर्दै क्रुर नाकावन्दी लगाउने थिएनन्। मोदी धार्मिक मानिस नभएका केसीले बताए। नेपाली शासकलाई सम्झाएर,थर्काएर वा फकाएर जसरी हुन्छ नेपालका प्राकृतिक साधन-स्रोतमा कब्जा गर्ने भारतीय बिस्तारबादको नियत रहेको केसीको दावी छ। प्रधानमन्त्री ओलीमाथि धेरै आशा र भरोसा आफूले नराख्ने केसीले बताए। जनकपुरमा मोदीको भ्रमणको सम्पूर्ण चाँजोपाजो भारतीय राजदूतले मिलाएको भन्दै केसीले ओली सरकार भारतसामु लम्पसार परेको समेत आरोप लगाए।

अरुण तेस्रो अहिले भारतको कब्जामा परेको छ।उसले अरुण तेस्रो बनाउदैन ‘होल्ड’ मात्र गरिरहने केसीको बुझाई छ।

केसी अगाडि भन्छन् -‘भारत सरकारको नियत मधेशी दलहरुलाई उचालेर संविधान संशोधन गराउनेमा छ।भारतले संविधान संशोधनको मुद्धा छोडि नसकेको केसीले खुलाए।सत्र बर्षसम्म कुनैपनि भारतका प्रधानमन्त्री नेपाल नआए हुने तर ओली प्रधानमन्त्री भईसकेपछि उसका मन्त्रीहरुलाई नेपाल भ्रमण गराउनु र मोदी आफै नेपाल भ्रमणमा आउनु चीनसँगको सम्बन्धलाई रोक्नु मात्र हो।’

नेपाली भूमि भारतले मिचेका,सिमाका नेपालीहरुलाई भारतले हेप्ने,गोली हानेर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गर्ने लगायतका विभिन्न भारतीय पक्षबाट भईरहेको हेपाहा प्रवृति र ज्यादतीबारे ओलीले मोदीसँग आँखा जुधाएर कुरा गर्न नसकेको केसीले आरोप लगाए।