भारतीय प्रधानमन्त्री मोदीले नेपाली जनताले नबुझ्ने भाषामा ‘नाकाबन्दी त्रुटिपूर्ण थियो’ भन्ने स्वीकारे: नेता रावल, भिडियो सहित

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १, २०७५

                               

भीम रावल, उपाध्यक्ष, नेकपा एमाले । जन्म: वि.सं २०१२, अछामको साँफेबगर । २०३२ सालदेखि राजनीतिमा सक्रिय । पुर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री, २०६६ सालमा गृहमन्त्री र २०५१ सालमा पर्यटन राज्यमन्त्री समेत भएका थिए । राजनीति शास्त्रमा एमए, अहिले राजनीतिशास्त्रमै पिएचडी गर्दै (राज्यको हिंसा र माओवादी विद्रोह बिषयमा) कानूनमा बीएल । छलफल साप्ताहिकका संस्थापक सम्पादक । साहित्यकार पनि हुन् । कविता संग्रहहरु प्रकाशित छन् । गीत पनि लेख्छन् । दुई राजनीतिक पुस्तक प्रकाशित । एमालेभित्र वौद्धिक एवं तार्किक नेताको परिचय बनाएका, दलीय बैठक र सम्बोधनहरुमा तथ्थ र तथ्याङ्क सहित प्रस्तुत हुने गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपालको दुई दिने भ्रमणबारे? नेपालका छिमेकीहरुसँगको सम्बन्धबारे ? ओली र एमालेको राष्ट्रवादी छविबारे उठेका प्रश्नहरुबारे ? एमाले–माओवादीबीच देखिएका असन्तुष्टि र एकता न(हुने) सम्भावनाबारे ? भारतीय सांसद कीर्ती आजादका अभिव्यक्तीबारे ? मोदीसामु २ नम्वर प्रदेशका मुख्यमन्त्रीको गुनासो/आक्रोसबारे ? अभिनन्दनपत्रमा हिन्दी भाषा प्रयोगबारे ? लगायत समसामयिक बिषयमा टीकाराम यात्रीको तमसोमा ज्योतिर्गमयमा नेता रावलले ब्यक्त गरेका भनाई यस्तो छ :-

नेपालमा लगाइएको ६ महिने ‘नाकाबन्दी त्रुटिपूर्ण थियो भन्ने उनले स्वीकारेका छन् । तर नेपाली जनताले बुझ्ने भाषामा नबोलेका हुन् । नाकाबन्दी गलत थियो भन्ने महसुस गरे पनि उनले नेपाली जनताले बुझ्ने गरी बोल्न सकेनन् ।’ रावलले मोदीले नेपाल आएर यहाँको अखण्डता र स्वाभिमानमा जोड दिएकाले पनि यो कुरा पुष्टि हुने बताए ।

रावलले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको टिप्पणी नेपालको अखण्डतामाथिको ठुलो प्रहार भएको बताए । ‘कीर्ति आजादको टिप्पणी नेपालको स्वाभिमानमाथिको नाङ्गगो प्रहार हो’, रावलले भने ।आजादले उठाएको सुगौली सन्धि नेपालको भूगोल खुम्च्याउने गरी अंग्रेजसँग भएको सम्झौता भएकाले नेपालले पनि विशाल नेपाल माग्न सक्ने बताए ।

मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको मन्तब्य आपत्तिजनक रहेको बताए । प्रदेश या केन्द्र सरकारका सदस्यले विदेशी पाहुनासँग आफ्ना धारणा राख्नुअघि परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पनि राउतले लत्याएको रावलले बताए । उपाध्यक्ष रावलले जानकी मन्दिरमा नेपाली झण्डाको स्वरुप बिगारेर राख्नु निकै दुःखदायी भएको पनि बताए ।  तस्बिर पनि लिन निषेध गरिएको मुक्तिनाथ बाबाको गर्भगृहबाटै भारतीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिनु गलत भएको पनि बताए । उनले भारतीय टेलिभिनज दुरदर्शनबाट भएको यस्तो कामलाई आपत्तिजनक हो ।