कांग्रेस इतिहासमै कम्जोर हुनुको कारण, बीपीको सिद्धान्त विपरीत राजतन्त्र छाड्नु: नेता गुरुङ

प्रकाशित मिति - सोमवार, बैशाख ३१, २०७५

                               

”नेपाली कांग्रेसले बीपीको सिद्धान्तलाई बिर्सिएर पदच्युत भएको कारणले कांग्रेस इतिहासमै कम्जोर भएको हो । अब कांगेसले पुनरजीवन पाउन फेरी बिपीकै सिद्धान्तमा नफर्किन सुख छैन । राजाले जेल हाल्दा पनि राजा चै राष्ट्रप्रेमी हुन्छ भन्दै आफ्नु जीवनकाल भरि दर्शन , सिद्धान्त आस्था नलिने कम्युनिष्टहरुसंगको सहकार्य र एकता नगरेका बीपीको मार्गबाट विचलित भएर कम्युनिष्टहरुसंग सहकार्य गरेदेखि कांग्रेस ओरालो लागेको हो । यसको शुरुवात गणेशमान, किसुनजी, र गिरिजाले २०४६ सालबाट शुरु गरे,जसलाई पछिका सुशील कोइराला, शेरबहादुरहरुले पनि निर्वाचन लगायत बहानामा सहकार्य गरेका छन् । ”उक्त कुरा नेपाली कांग्रेसका नेता केबी गुरुङले सगरमाथा टिभीसंगको एक अन्तर्वार्तामा बताएका हुन् ।

नेपाली कांग्रेस भित्र सभापति देउवा र बरिष्ठ नेता पौडेल भन्दा पनि अघिल्लो पुस्तामा गनिने गुरुङले बिपीदेखिकै संबैधानिक राजतन्त्रका समर्थक हुन् तर इतिहासको बिडम्बना यो छ कि उनकै अध्यक्षतामा बसेको संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। उक्त घोषणाबाट कहिले पनि सन्तुष्ट नभएको बताउदै आएका छन् । यो अन्तवार्तामा पनि बीपीको सिद्धान्त भन्दै धेरै पल्ट दोहर्याएका छन् ।

वर्तमान देउवा नेतृत्वले कांग्रेसलाई नया जीवन दिन नसक्ने कुरा गर्दै बीपीको सिद्धान्त अनुसार कांग्रेसलाई अघि बढाउने नयाँ नीति र नया नेतृत्व आबश्यक रहेको बताएका छन् । कुराकानीको क्रममा सिधै नभने पनि सांकेतिक रुपमा गुरुङ्गले गणतन्त्र रहन नसक्ने संकेत गर्दै बीपीको सिद्धान्तमा कांग्रेस फर्किनु पर्ने कुरा गरेका छन् अन्तर्वार्तामा ।

२००५ सालदेखि राणा शासन विरूद्धको संघर्षमा सहभागी भएका गुरुङ त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन गरेका छन । पञ्चायत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा २०२९ सालमा पक्राऊ गर्ने आदेश भएपछि उनी भारत निर्वासित भएका थिए। यस क्रममा राष्ट्रिय मेलमिलापको नीति लिएर बी.पी. कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कदा उनी पनि त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए।

”कांग्रेस यथास्थितिमा बाँच्न सक्दैन, नयाँ नीति र नेतृत्व चाहियो”

गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय रहेका थिए। शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध गुरुङ झण्डै ७ दशक लामो राजनैतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै हाल केन्द्रीय सदस्य हुन्। यसअघि उनी नेपाली कांग्रेसको इलाम जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै केन्द्रीय महामन्त्री बनिसकेका छन्। विभिन्न समयमा गरी कुल तीन वर्ष जेल जीवन बिताई सकेका छन् ।