फेसबुक विवाद: संस्थापक मार्क जुकरबर्गको यस्तो घोषणा, ह्वाट्स एपका सीईओले राजीनामा

प्रकाशित मिति - बुधबार, बैशाख १९, २०७५

                               

एजेन्सी | फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई ब्राउजिङ हिस्ट्रि डिलिट गर्ने सुविधा प्रदान गर्ने भएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार अबेर राती यसको घोषणा गरेका हुन् ।

क्यालिफोर्नियामा आयोजित कम्पनीको वर्षीक एफएट कन्फरेन्सलाई सम्बोधित गर्दै जुकरबर्गले फेसबुकको पुरानो हिस्ट्रि डिलिट गर्ने टूल ‘क्लियर हिस्ट्रि’ बारे घोषणा गरेका हुन् ।

जुकरबर्गले भने, ‘यो निकै सजिलो कदम हुनेछ जसमार्फत तपाईं आफ्नो ब्राउसिङ हिस्ट्रि डिलिट गर्न सक्नुहुनेछ । तपाईंले कुन लिंकलाई क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयोलगायतका जानकारी तपाईं क्लियर हिस्ट्रिमार्फत हटाउन सक्नुहुनेछ ।’

उनले थपे, ‘फेसबुकमा विज्ञापन र अन्य टुल्समार्फत जुन वेबसाइट र एप्सलाई तपाईंले क्लिक गर्नुभयो अब तपाईं आफ्नै मर्जीले डिलिट गर्न सक्नुहुनेछ । यदि तपाईं त्यसलाई सुरक्षित राख्न चाहनुहुन्छ भने क्लियर हिस्ट्रिलाई टर्न अफ गरेर सुरक्षित राख्न पनि सक्नुहुनेछ ।’

केही समयअघि फेसबुकमाथि आफ्ना प्रयोगकर्ताको डेटा कुनै अन्य कम्पनीलाई बेचेको आरोप लागेको थियो । फेसबुकका करोडौं प्रयोगकर्ताका नीजि जानकारी राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप लागेको हो ।

ऊता लोकप्रिय म्यासेजिङ सर्भिस ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने भएका छन् 

उक्त कुराको जानकारी उनले फेसबुकबाट यसको आधिकारिक घोषणा गरेका हुन् ।

‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ उनले एक पोष्टमा लेखेका छन् ।

तर वासिंटन पोष्टमा सोमबार प्रकाशित समाचारअनुसार ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी फेसबुकसँग कोउमको टकराव बढेको थियो । ह्वाट्सएपको व्यक्तिगत डाटा प्रयोग गर्ने फेसबुकको प्रयासमा उनले आपत्ति जनाएका थिए ।

यूक्रेनका आप्रवासी कोउमले स्टान्डफोर्डका विद्यार्थी ब्रायन एक्टोनसँग मिलेर सन् २००९ मा ह्वाट्सएप स्थापना गरेका थिए । सन् २०१४ मा यसलाई फेसबुकले १९ अर्ब डलरमा खरिद गरेको थियो । पछिल्लो समयमा फेसबुक र ह्वाट्सएपको सम्वन्ध बिग्रेको थियो । एक्टोनले गत नोभेम्बरमा फेसबुकको आलोचना गर्दै कम्पनी छोडेका थिए ।