देशकै ठुलो सभागृह ‘दमक सभागृह’को निर्माणकार्य शुरु

नेपाल सरकारको २८ करोड बढी लागतमा सुविधा सम्पन्न दमक सभाहल निर्माण थालिएको हो
बिष्णु सुब्बा

प्रकाशित मिति - सोमवार, माघ १५, २०७४

                               

दमक, १५ माघ | झापाको दमक–९ स्थित प्रधान टोलमा सुविधा सम्पन्न सभा हल निर्माण थालिएको छ । नेपाल सरकारको २८ करोड बढी लागतमा सुविधा सम्पन्न दमक सभाहल निर्माण थालिएको हो । निर्माणाधीन सभाहल सम्पन्न भए देशकै ठुलो हुने नगरपालिकाको दावी छ ।

सभाहल निर्माण गर्न श्री डाँफे ,एम.ए. र प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले संयुक्त रुपमा ठेक्का पाएको छ । निर्माण कम्पन्नी एमएका इन्जिनियर महासेक चौधरीका अनुसार सभाहलको प्रांरिम्भक चरणका कामहरु शुरु भईसकेका छन् । सभाहल गत मंसिर १७ गतेदेखि औपचारिक रुपमा काम थालिएको उनले बताए । अहिले सभाहल संरचना अन्तगर्तको खन्ने काम सकिएको छ । करिव ८ कठ्ठा जमीनमा निर्माण शुरु गरिएको सभाहलसहित विभिन्न आवश्यक कोठाहरु हुने छन् । त्यहाँ सभाहलका लागि स्थानीय दाताहरुले लाखौ मूल्य पर्ने १ विगाहा ७ कठ्ठा जमीन उपलब्ध गराएका थिए ।

४ व्लक रहने सभाहलमा २ वटा सभाहल, रेस्टुरेन्ट,मिटीङको हल एक÷एक हुने छन् भने ६ वटा चेन्जिङ रुम निर्माण हुने इन्जिनियर चौधरीले बताएका छन् । ठुलो सभाहलमा १५१६ जना अट्ने क्षमताको हुने छ भने सानो हलको भने २२१ जना अट्ने क्षमताको हुने छ । सभाहलको निर्माण कार्यमा दैनिक ४० जना कामदार परिचालित छन् । अव डण्डी बुन्ने,सोलिङको काम हुने इन्जिनियर चौधरी बताउँछन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय इलाम मार्फत लागेको उक्त सभाहलको सम्पन्न समय भने २०७७ असार २५ रहेको छ । त्यस्तै,लागत अनुमान २८ करोड ४४ लाख ६९ हजार ५२३ रुपैया रहेको र संझौता भने २८ करोड ४० लाख ५८ हजार ८८८ रुपैयामा लागेको थियो । तर सभाहल सवै पूर्वाधारसहितको संरचना निर्माण हुदाँ त्यसको लागत भने ४४ करोड पुग्ने अनुमान नगरपालिकाको छ । डिभीजन कार्यालयका इन्जिनियर शुसान्त बुढाथोकीले संझौता अनुसार सभाहलको निर्माण कार्य तीव्र भईरहेको बताए । संझौता बमोजिमनै निर्माण सम्बन्धी सवै काम हुने भन्दै इन्जिनियर बुढाथोकीले त्यसका लागि कार्यालयले निर्माण कम्पनी,प्राविधिकहरुसंग आवश्यक समन्वय गरि कार्यमा अनुगमन गरिआएको बताउछन् ।

दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालका अनुसार दमक सभाहल देशकै ठुलो संगै सुविधासम्पन्न हुने छ । ‘ निर्माणाधीन सभाहल देशकै आर्कषकसहित बढी क्षमताको हुने छ’ कार्यकारी अधिकृत दाहालले भने । उनले पूर्वमा सुविधासम्पन्न ठुलो सभाहलको आवश्यक भईरहेको बेला यस सभाहल उपयोगी हुने बताएका छन् । सभाहल अन्य सभाहलको तुलनामा छुट्टै व्यवस्थापनको हुने उनले जनाए । ‘हलमा डिजीटल प्रविधिको व्यवस्थापन हुने छन् ’ उनले भने ,–‘ अब सभाहल निर्माणले नगरको विकासमा सहयोग पुग्ने छ ।’

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ जेठ २८ गते शिलान्यास गरेको सो सभाहलको शिलान्यास त्यसताका फाल्गुनन्द सभागृहबाट गरिएको थियो । किरात धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानमा अनौपचारिक रुपमा सभागृह शुरु गर्ने योजना अनुसार प्रकृया अघि बढेको थियो । तर निर्माणका क्रममा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनसहितका अनुनायीले लागत रकम व्यहोर्न नसक्दा प्रस्तावित नामकरणमा फेरबदल गरिएको नगरपालिकाले जनाएको छ ।

यसैवीच, स्थानीय स्तरमा गठित सभाहल व्यवस्थापन समितिकी अध्यक्ष मीना श्रेष्ठले दमक सभागृह समयमानै सम्पन्न गराउन स्थानीय सरोकारवालाहरुले सहयोग पुर्याँउने बताईन् । ‘ सभाहलको काम हेर्दा समयमा सम्पन्न हुने देखिएको छ’ जग्गादाता समेत रहेकी अध्यक्ष श्रेष्ठले भनिन्,–‘ अव यो सभाहलले यस क्षेत्र देशकै थप आर्कषण बन्ने छ ।’ शुरु ताका दाताहरुले नगरपालिकालाई बाल उद्यानका लागि जग्गा दिएका थिए । वाल उद्यानको काम नभएपछि नगरपालिकाले त्यस जमीनमा सुविधा सम्पन्न सभाहलको योजना अघि बढाएको थियो । तीन कठ्ठा जग्गा दिएकी श्रेष्ठले अव अघिल्ला योजनाहरु जस्तो वीचैमा अलपत्र हुने अवस्था नआउनेमा आशावादी छिन् ।

भन्छिन्, –‘ अव पक्कै पनि समयमानै सभाहलले पूर्णता पाउने छ । ’ उनले सभाहलले दमकमा ठुला कार्यक्रमहरुको आयोजना गर्न ठाँउको अभाव नहुनेमा ढुक्क छिन् । ‘सभाहल हामी सवैको सम्पति हो’ स्थानीय बासिन्दा समेत रहेकी दाता श्रेष्ठले सभाहल संझौता अनुसार सम्पन्न गराउन स्थानीय स्तरमा हरसहयोग गर्न तल्लीन भएको बताईन् ।