यसरी बनेको रैछ काठमाण्डौमा रहेको सहिद गेटको सालिक जम्मा १ लाखमा, भिडियो अन्तर्वार्ता

प्रकाशित मिति - शनिबार, माघ १३, २०७४

                               

शहीद सप्ताह सुरु भएको छ । जब जब शहीद दिवस सुरु हुन्छ, तब तब शहीद गेटमा सबैभन्दा माथि किन राजा त्रिभुवनको सालिक ? भनेर एकथरि मानिस हम्मेसी प्रश्न गर्छन् । तर त्यसको ठोस जवाफ कहिल्यै बाहिर आउँदैन । यही निरन्तरको जिज्ञासा मेटाउने प्रयासमा अर्को प्रश्न खडा भयो– खासमा कसरी बनेको थियो त शहीद गेट ? यिनै प्रश्न र जिज्ञासाहरू साम्य पार्ने जमर्को गर्दा यसको लहरो पुग्यो शहीद गेटका डिजाइनर शंकरनाथ रिमालसम्म । प्रस्तुत छ, काठमाडौं नक्सालस्थित निजी निवासमा उनै रिमालसँगको कुराकानी

१. कसरी गर्नुभएको थियो, शहीद गेटको डिजाइन ?

– वि.सं.२०१३ सालमा इन्जिनियरिङ पढेर नेपाल फर्केपछि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई भेटेर मैले काम मागेँ । उहाँले तत्काल काममा खटाइदिनुभयो । मेरो अफिस भद्रकालीमा थियो । त्यही क्रममा एकदिन राजा–रानी (महेन्द्र शाह र रत्न शाह) हाम्रो अफिस आउनुभयो । अफिसमा मलाई उहाँहरूले मेरो बाजेको नाताले चिन्नुभयो । र, दरबारमा बोलाउनुभयो । दरबारमा राजाले मलाई एउटा ‘मोनुमेन्ट’ को ‘स्केच’ बनाउन भन्नुभयो । उहाँले त्यही बेला ७–८ वटा फरक–फरक ‘कन्सेप्ट’ को स्केच ल्याउन भन्नुभएको थियो । त्यही अनुसार नै मैले ‘स्केच’ हरू लिएर गएँ । राजाले गेटको परिकल्पना गरिएको ‘स्केच’ मन पराउनुभयो । यो २०१४ सालको कुरा हो । राजाले मन पराएको त्यस गेटको नाम ‘नेपाल स्मारक’ थियो ।

२. गेटमा क–कसको सालिक राख्ने भन्ने पनि तपाईंकै ‘कन्सेप्ट’ हो ?

होइन । गेटमा ५ जनाको सालिक राख्ने र तीमध्ये पनि एउटा चाहिँ माथि राख्ने भन्ने ‘कन्सेप्ट’ राजाको हो । मलाई त क–कसको राख्ने भन्ने कुरा डिजाइन पूरा गर्दासम्म पनि थाहा थिएन ।

३. चार शहीदलाई मृत्युदण्ड दिन स्वीकृति दिने तत्कालीन राजा त्रिभुवनको सालिक शहीद गेटमा उनीहरूभन्दा माथि राख्दा तपाईंलाई कस्तो लाग्छ ?

राजा त्रिभुवनलाई राणाहरूले छातीमा बन्दुक राखेर सही गर्न लगाएका हुन् भन्ने मैले सुनेको थिएँ । सुनेको कुरामा म धेरै बोल्न सक्दिन । जहाँसम्म शहीद गेटमा त्रिभुवनको सालिक शहीदको भन्दामाथि किन भन्ने सवाल छ, त्यो कथामो माग हो । उहाँ राष्ट्रप्रमुख हुनुहुन्थ्यो । ‘हेड अफ द स्टेट’ को सालिक माथि हुनुलाई अस्वभाविक मान्न हुन्न । बिर्सनु हुन्न, राजा त्रिभुवनले राणाशाही खेद्न ठूलो योगदान गर्नुभएको थियो ।

४. त्रिभुवनको सालिक फ्याँक्न तत्कालीन इन्जिनियर प्रधानमन्त्री बाबुराम भट्टराईको क्याबिनेटले निर्णय नै गरेको थियो रे ! के तपाईंसँग सल्लाह गरेर त्यो निर्णय भएको थियो ?

त्यसबेला प्रधानमन्त्री कार्यालयबाट फोन आएको थियो, यसो गर्दा के हुन्छ भनेर ? हुन्छ, तर त्यो भत्काएर के राख्ने भनेर सोधेको थिएँ । त्यसको जवाफ चाहिँ आएन । ती प्रधानमन्त्रीकी पत्नी म इन्जिनियर एसोसिएसनमा हुँदा सँगै थिइन् । मैले चिनेकै थिएँ, ती लोग्ने–स्वास्नीलाई । तर पछि त्यो निर्णय कार्यान्वयन भएन ।

५. डिजाइन सदर भएपछि तपाईंले राम्रै बक्सिस पाउनु भयो होला होइन ?

मैले २०१४ सालमा डिजाइन गर्दा शहीद गेटको लागत २५ हजार रुपैयाँ थियो । पछि बनिसक्दा १ लाख रुपैयाँ लागेछ । १ लाखमा बनेको शहीद गेटको डिजाइन गरेबापत मलाई १ हजार रुपैयाँ पारिश्रमिक दिइएको थियो । यो पैसा त्यतिबेला ठूलो मानिन्थ्यो ।