पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व रहेको बाइसे राज्य ! नाम, किन भनियो र स्थापनाको कारण

प्रकाशित मिति - बिहिबार, माघ ११, २०७४

                               

पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपाल विभिन्न राज्य रजौटामा विभक्त भएको इतिहासले बताउँछ। यी मध्ये पश्चिमका बाइसे राज्य र चौविसे राज्यहरू उल्लेखनीय थिए।

पश्चिमी नेपालको खस राज्य इशाको चौधौं शताव्दीको उत्तरार्द्धतिर विखण्डित भई ठाउँ ठाउँमा सामन्तहरू स्वतन्त्र हुन थाले। यस प्रकारसँग नेपालको गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू बनेका थिए।

बाइसे राज्य भनिएको कारण

जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्लालाई बाइस पाखा भनिन्थ्यो भने जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। यस कुरालाई वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र, वि.सं. १८५५ मा सुब्बा भयहरण थापाको आज्ञापत्र र वि.सं. १८७८ मा लेखिएको कल्याल वंशावलीमा उल्लेख गरिएको छ।

त्यस कारण जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनियो। यसरी रहेका बाइसी राज्यहरूमा विद्वान भेन्सिटार्टले २२ वटा, कर्कप्याट्रिकले १८ वटा, बुचानन ह्यामिल्टनले २१ वटा, ओल्डफिल्डले १८ वटा र प्रा. डा. राजाराम सुवेदीले ३० वटा नामहरू प्रकाशन गरेका छन्।

२२ से राज्यहरुका नाम

१—जुम्ला, २– जाजरकोट, ३— सल्यान, ४— अछाम, ५— रुकुम, ६— विलासपुर, ७— दुल्लु, ८— डोटी, ९— दैलेख, १०— आठबिस, ११— सान्नी, १२— दर्ना (अछाम) १३— विमकोट, १४—बोगटान, १५— गजुल (रोल्पा) १६— खुम्री (रोल्पा) १७— वाजुरा, १८— मालनेटा, १९— बझाङ्ग, २०— दाङ, २१— जहरी, २२— थलार

बाइसे राज्यहरू स्थापनाको कारण

डोटी राज्य सिञ्जा साम्राज्यको केन्दिय शासनप्रणालीसँग ससैन्य युद्ध गरेर नै छुट्टिएको थियो भने अन्य बाइसी चौबिसी राज्यहरू सन्तान दरसन्तानमा अंश वितरण गरिएझैं राज्य बाँडफाडकै प्रक्रियामा स्थापित हुँदै गएका थिए। मुस्ताङ र बलिहाङ राज्य पहिलेदेखि नै छुट्टै अस्तित्वमा रहेका थिए। मलय वर्माले आफ्नो जीवनकालमै आफ्ना छोराहरू सुमेरू वर्मालाई सल्यान, मेदिनी वर्मा (जक्तिसिंह)लाई जाजरकोटको जक्तिपुर, पिताम्बर (पर्वता वा पृथ्वीवर्मा)लाई रुकुम र संसारी वर्मालाई दुल्लु र अछाम भेकका महा मण्डलेश्वरको रूपमा नियुक्त गरी आफू सयं खाँडाचक्रबाट महाराजाधिराजको हैसियतामा शासन गरिरहेका थिए। मलै वर्माको मृत्यु पश्चात ती सबै छोराहरूले आफ्नो आफ्नो क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरी राजा बन्न पुगेको थिए।

यसै क्रममा अभय मल्लको पलायनपश्चात वि.सं. १४५३ मा संसारी वर्माले आफू महामण्डलेश्वर भएको दुल्लुक्षेत्रलाई नै सर्वप्रथम दुल्लु राज्यको रूपमा घोषणा गरी आफू त्यहाँका राजा बने, तर मलय वर्माका सबै छोराहरू सँगसँगै राज्य टुक्राउँदै राजा भएका थिएनन् र सिञ्जा साम्राज्यलाई टुक्राउँदै बाइसे चौबिसे राज्य बनाउने उनीहरू मात्र थिएनन्। वि.सं. १४५३ मा दुल्लु राज्य मात्र नभएर गोताम राज्य पनि अलग भइसकेको थियो।

त्यसैगरी वि.सं. १४५५ मा जुम्ला, जाजरकोट (जक्तिपुर) र रुकुम राज्य स्वतन्त्र भएका थिए। वि.सं. १४६५ मा धुर्कोट राज्य, वि.सं. १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाँफी र सल्यान राज्य स्वतन्त्र भएका थिए। त्यस कारण बाइसे र चौबिसे राज्यको जग मलय वर्मा र उनका छोराहरूले बसालेका थिए भन्नु पनि न्यायसङ्गत देखिदैन। सबै भुरे टाकुरे सामन्तहरू सिञ्जा साम्राज्यको अधिनताबाट मुक्त भएर स्वतन्त्र राजा बन्न चाहन्थे।

विकिपिडियाको सहयोगमा